आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

माधव नेपालसहित एमालेका ४ नेताले बुझाए स्पष्टीकरण

गोकर्णेश्वर खबर१२ चैत्र २०७७, बिहीबार २३:१० मा प्रकाशित (३ साल अघि) ६४८ पाठक संख्या

काठमाडौं – नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले पार्टीले मागेको स्पष्टीकरण बुझाएका छन्।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन्।

उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।

‘पार्टी कार्यालयमा रहेका कर्मचारीले नेताहरुको स्पष्टीकरण पत्र प्राप्त भएको बताउनुभएको छ,’ एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भने।

अर्का एक नेताले पार्टी कार्यालयमा महासचिवका नाममा पत्रहरु प्राप्त भएको बताए।

शनिबारको केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

सो पत्रमा तीन–दिनभित्र जवाफ दिन भनिएअनुसार आज बिहीबार नेताहरुले जवाफ पठाएका हुन्।