आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

लोक सेवा आयोगले लिएको प्रहरी जवानको परीक्षामा २२ नक्कली विद्यार्थी पक्राउ

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २२:१० मा प्रकाशित (३ साल अघि) ७९६ पाठक संख्या

काठमाडौं – प्रहरी जवान खुला तथा समावेशी परीक्षाको लिखित परीक्षामा नक्कली विद्यार्थी फेला परेका छन्।

लोक सेवा आयोग दीपायल केन्द्रबाट महेन्द्रनगरका विभिन्न क्षेत्रमा सञ्चालन भएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका हुन्।

यसक्रममा प्रहरीले हस्तक्षेप गरी २२ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार शनिबार २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो।
नागरिकताको प्रमाणपत्र, प्रवेश पत्रमा फोटो फेरेर समेत परीक्षामा सहभागी भएको पाइएको चतुर्वेदीले बताए।

‘हस्ताक्षरसमेत किर्ते गरी सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन्,’ उनले भने।

पक्राउ परेकाहरू कैलाली, बझाङ र दार्चुलाका छन्। ११ बजे परीक्षा सुरु भएपछि प्रहरी परीक्षा केन्द्रहरूमा गएको थियो।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको उनले बताए।