आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार १५:३१ मा प्रकाशित (३ साल अघि) ३६१ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले यसबारे जानकारी दिएका हुन्। त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म लैजानेगरी सरकारले तयारी गरिरहेको बताए। कोभिड १९ विरुद्धको खोप अहिले सम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताए। खोपलाई जनतासमक्ष निशुल्क पु¥याउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

आइतबार कोभिड १९ विरुद्धको कोभ्याक्स खापको पहिलो खेप नेपाल आउने भएको छ। सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ।