बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएको एक कार्यक्रमलाई स्थानीयवासीले बिथोलेका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका हुन् ।
अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले आक्रमण गरेपछि कार्यक्रम बिथोलिएको कार्यक्रममा सहभागी एक प्रत्यक्षदर्शीले बताए । अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै गएर आक्रमण गरेका हुन् ।
यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको बताइएको छ । स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। बलियो सुरक्षा घेरामा आज (शुक्रबार) शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै गएर आक्रमण गरेका हुन् ।
स्थानीयवासीले मञ्चमै आएर आक्रमण गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँड्नु परेको थियो । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको र त्यसपछि वातावरण झन् बिथोलिएको हो । प्रहरीका अनुसार मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँड्नु परेको हो ।
शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो। सरकारले रूपन्देहीमा १ हजार बिघाको करिडोर निर्माण अभियान थालेको छ ।