आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौँ घाइते

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:२६ मा प्रकाशित (३ साल अघि) ५०८ पाठक संख्या

ढाका– बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् ।
प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् ।
स्थानीय टेलिभिजनहरुले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ ।
प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ ।
“उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।
विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले बताए ।
प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दाबी गरे । प्रदर्शनकारीहरुले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए ।
प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो कि भन्ने आशंका उब्जाएको टिप्पणी गरे ।
-एएफपी