काठमाडौं – गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् ।
शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’
के भनेका थिए पन्तले
कार्यक्रममा सहभागीहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका पन्तले पार्टीमा देखिएको प्रवृत्तिबारे टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा भनिएको छ,
‘‘महिलाहरु केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’