आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

ओली समूहले भन्यो-‘ सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गछौं’

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार २०:५१ मा प्रकाशित (३ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भने ।

त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले चारवटा निर्णय गरेको ज्ञवालीले बताए । उनका अनुसार, अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।

यो फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए । ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ’, ज्ञवालीले भने ।

बैठकले यो समूहले देशका विभिन्न स्थानमा तय गरेको सभाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको उनले बताए ।