मुम्बई – भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस प्रेमिल जोडीका लागि विशेष दिन हो । यो दिन प्रत्येक जोडीका लागि केही नयाँ हुन्छ । बलिउडको लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणलाई पनि प्रत्येक वर्षको भ्यालेन्टाइन विशेष लाग्छ । किनकी उनीहरुको प्रेमकथा कुनै फिल्म भन्दा फरक छैन ।
रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा कोंकणली रीतिरिवाज अनुसार इटालीको लेक कोमोमा विवाह गरे । विवाह अघि यो जोडी ६ वर्ष डेटमा रमाए । कमैलाई मात्र थाहा होला कि यो जोडी सन् २०१२ मा रिलिज फिल्म ‘गोलियों की रासलीला–रामलीला’बाट नजिकिएका थिए । उनीहरुले यही फिल्ममा पहिलोपटक अनस्क्रिन रोमान्स गरे । तर फिल्मको काम सकिए लगत्तै उनीहरुको अफस्क्रिन उत्तिकै चर्चामा आयो ।
सञ्जय लीला भन्साली निर्देशित यो फिल्मको सेटमा ‘अंग लगा दे’ बोलको गीत छायांकन गरिएको छ । गीतको अन्त्यमा दुवैजनाले एकअर्कालाई चुम्बन गर्नुपर्ने थियो । उनीहरु चुम्बनमा यति डुबे कि निर्देशकले ‘कट’ भन्दा पनि त्यसको परवाह गरेनन् । त्यो रात सेटमा करिब ५० व्यक्ति थिए र उनीहरुको चुम्बन देख्दा त्यहाँ एक किसिमको सन्नाटा नै छायो । उनीहरुको प्रेमपूर्ण चुम्बन देखेपछि मात्र सबैले यो जोडी प्रेममा छन् भन्ने अन्य सदस्यले थाहा पाए ।
यो घटनापछि उनीहरु सुटिङ सेटमा आउँदा उनीहरु एकअर्कालाई ‘बेबी’ भनेर सम्बोधन गर्थे । सँगै खाना खान्थे र सुटिङ नहुञ्जेलसम्म भेनिटी भेनमा घण्टौं बिताउँथे । सबैले फिल्मको सुटिङ सकिएपछि उनीहरुको प्रेम पनि सकिने अनुमान लगाएका थिए । तर अनुमान केवल अनुमानमै सीमित रह्यो । यो फिल्म पछि उनीहरु ‘बाजीराव मस्तानी’मा देखिएपछि मात्र उनीहरुको प्रेम दिगो रहेछ भन्ने आभाष फिल्मकर्मीलाई भएको थियो ।
‘बाजीराव मस्तानी’को सुटिङका समयमा रणवीरले आफ्नो सिन दिएपछि पनि उनी सेट छोड्दैन थिए । उनी दीपिकालाई पर्खिएर बस्थे । रणवीर मात्र एक यस्ता अभिनेता हुन्, जसले दीपिकालाई हलिउड जान सल्लाह दिएका थिए ।