काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला गरेको हो ।
भेलामा सहभागी एक नेताका अनुसार अब फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको छ । यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरेको छ ।
गतवर्ष नै हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कोरोना भाइरसको बहानलाई देखाएर एक वर्ष पछि सारेर फागुनको ७ गतेलाई मिति तोकिएको थियो । तर, तालिकाकअनुसार काम हुन नसकेपछि अब सभापति शेरबहादुर देउवाले थप ६ महिना सभापति हुन पाउने पक्का भएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ । तर, असामान्य परिस्थिति उत्पन्न भएमा थप एक वर्ष सभापति रहिरहन पाउने विधानमा उल्लेख गरिएको छ । देउवाले उक्त १ वर्ष पनि प्रयोग गरिसक्नुभएको छ ।