आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

‘सरकारको काल आएकै हो ?

गोकर्णेश्वर खबर२९ माघ २०७७, बिहीबार २०:३६ मा प्रकाशित (३ साल अघि) ३६६ पाठक संख्या

काठमाडौँ – नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गरेका छन् ।

संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेखेका छन् ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ , नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको थियो ।देशभरबाट व्यापक दबाब आएपछि साँझ रिहा गरिएको छ ।