आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

गोकर्णेश्वर खबर२५ माघ २०७७, आईतवार २३:१२ मा प्रकाशित (३ साल अघि) ४५३ पाठक संख्या

काठमाडौँ– बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन मागसहित नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद भएको प्रदर्शनमा सहभागीको भनाइ थियो ।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो । उनको बलात्कापछि हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।