आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

ओलीलाई जनताले प्रधानमन्त्री होइन,सांसद बनाएका हुन् : नेता पुन

गोकर्णेश्वर खबर२५ माघ २०७७, आईतवार २१:५२ मा प्रकाशित (४ साल अघि) ३३८ पाठक संख्या

स्याङ्जा – नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् ।

ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए ।

‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङ्जामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’

प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिहरुमा आफू पाँच वर्षका लागि जनताबाट प्रधानमन्त्री निर्वाचित भए पनि पार्टीभित्रैको अवरोधले काम गर्न नपाएकाले संसद विघटन गरेको दाबी गर्दै आएका छन् ।

नेता पुनले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको टिप्पणी गरे । ‘ओली जनमतबाट, समृद्धिको अभियानबाट र कम्युनिष्ट आन्दोलनबाट भागेको भगौडा हो’, उनले भने ।

ओलीले सत्ता प्राप्तिका लागि मात्र गणतन्त्र, धर्मनिरपेक्षा, समावेशीता, सामाजिक न्यायका एजेण्डा स्वीकार गरेको पुनको भनाइ छ । तर, ती राजनीतिक एजेण्डामा ओलीको स्वामित्व नरहेको आरोप पुनले लगाए ।