आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेकपा अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले गऱ्यो अगुवा कार्यकर्ता भेला

गोकर्णेश्वर खबर२४ माघ २०७७, शनिबार २३:२१ मा प्रकाशित (३ साल अघि) ३४७ पाठक संख्या

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब पक्षको अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च तथा संघीय जनसम्पर्क मञ्चले अगुवा कार्यकर्ता भेला गरेको छ ।

गृहजिल्ला अर्घाखाँचीबाट विभिन्न कामको शिलसिलामा काठमाडौंलाई कर्मथलो बनाएका नेकपामा आबद्ध व्यक्तिहरुलाई केन्द्रित गरेर काठमाडौं बुद्धनगरस्थित क्वालिटी व्याङ्केटमा अगुवा कार्यकर्ता भेला गरेको हो । भेलालाई नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल,नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्ट,नेकपा केन्द्रिय सदस्य डिलाराम आचार्य,पूर्व सांसद दुमन थापा लगाएतका नेताहरुले सम्बोधन गरेका थिए।

भेलालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य पम्फा भुसालले अहिले नेकपामा देखिएको विवाद कुनै पदका लागी नभई व्यवस्था जोगाउने लडाई भएको बताईन । उनले नेपाली जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै त्यस्को विरुद्धमा अहिलेका आन्दोलन, आमहड्ताल जस्ता कार्य गर्नु परेको बताएन । नेता भुसालले गणतन्त्रलाई नचाहने ओलीलाई प्रधानमन्त्री बनाउनु नै गल्ती भएको उल्लेख गरिन् ।

नेता भुसालका अनुसार लोकतन्त्र र संविधानको घाटी निमोठ्ने ओलीको पछि लाग्नेहरु कुनै राजनीतिक चेत सिद्धान्त नभई पद लोलुप्ताका कारण लागेको आरोप लगाईन । उनले काम चलाउ सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री राम बहादुर थापा बादल लगाएतका नेता प्रतिगामीको मतियार भएर गएको टिप्पणी गरिन् ।’टोपबहादुरलाई यो स्थान सम्म ल्याउने त्यही जनयुद्धले हो । नत्र उहाँसँग न कुनै राजनैतिक चेत छ न कुनै कुनै सिद्धान्त केवल उहाँमा मन्त्री खाने लोभ र चुनाव कसरी जित्ने कुन समूहबाट लाग्दा जित्ने भन्दा अरु कुनै ध्यान उहाँमा थिएन’ नेता भुसालले भनिन् ‘हामी कसरी संविधान बचाउने कसरी लोकतन्त्रलाई सुदृढ गर्ने कसरी प्रतिगामीहरुको कार्यलाई निमट्यान्ट पार्ने त्यसका केन्द्रित छौं ।अहिलेको लडाई प्रतिगामी विरुद्ध नै हो । जनतालाई भम्र छर्न पदको लडाई भन्दै आएका छन् ओलीका मान्छेहरु, त्यसबाट सजक रहँदै जनतासम्म ओलीको कुकृत्यलाई जनतासम्म पुराऔं ।’ नेता भुसालले अर्घाखाँची उग्रगमनको पक्षमा सधै रहेको भन्दै अहिले टोप बहादुर रायमाझी जस्ता व्यक्तिहरुले धमिल्याउने प्रयास गरेको जिकिर गरिन् । उनले भनिन् ‘अर्घाखाँची त्यस्तो जिल्ला हो, जसले जनयुद्धसहित विभिन्न अघी पछिका आन्दोलनहरुमा अग्रणी भूमिका खेल्दै आएको छ । मुलुकको व्यवस्था परिवर्तनका खातिर ८० भन्दा भन्दा बढीले सहादत प्राप्त गरेका छन् । त्यही आन्दोलन जनयुद्धको जगमा टेकेर ल्याईएको संघीय गणतन्त्रमाथी धावा बोल्ने ओलीलाई टोपबहादुरले साथ दिएर जिल्लाको भूमिका माथी दाग लगाउने कोशिष गरेका छन्। त्यस्ता कार्यलाई कुनै पनि हालतमा अर्घाखाँचीले साथ दिने छैन ।’

त्यस्तै भेलालाई सम्बोधन गर्दै स्थायी समिती सदस्य एव्म पूर्वमन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी ओली शर्मा ओलीले जनताको म्यान्डेट कुल्चीएर अगाडी बढेको बताए । उनले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गर्दै सर्वोच्च अदालतले संसद पुनः स्थापनाको पक्षमा फैसला गर्ने दाबी गरे । नेता विष्टले जनताले नेकपालाई विश्वास गरेर झण्डै दुई तिहाई बहुमत दिएर ५ वर्षसम्म सरकार चलाउन दिएको मतको सदुपयोग गर्नुको साटो आफ्नो निहित स्वार्थका लागी देश नै बन्धकमा राख्ने प्रयास ओलीबाट भएको टिप्पणी गरे । पूर्वमन्त्री समेत रहेका विष्टले जनताका माग मुद्धामा केन्द्रित हुनु पर्ने सरकारका प्रधानमन्त्री आफ्ना गुटका मान्छे केन्द्रित भएको समेत आरोप लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य डिलाराम आचार्यले ओली प्रवृतीको छिट्टै अन्त्य हुने दाबी गरे । उनले जनताको सर्वोच्च निकाय संसदलाई ओलीले सनकका भरमा ध्वस्त गराउने कार्य कुनै हालतमा स्विकार्न नसकिने उल्लेख गरे। ‘पटक पटकको आन्दोलन,जनयुद्धबाट प्राप्त भएका उपलब्धीलाई ओलीले आफ्नो निहित स्वार्थका लागी ध्वस्त गर्ने दुष्प्रयास गरेका छन्’ उनले भने ‘ओली प्रवृतीलाई ओली गुट र राजावादी बाहेक कसैले समर्थन गरेको छैन् । नेकपा,कांग्रेस, समाजवादी सबै पार्टी उनको कदमविरुद्ध उभिएका छन् । अब छिट्टै संयुक्त आन्दोलनमा गएर ओलीको प्रतिगामी कदम र उनको प्रवृतीलाई अन्त्य गर्नुपर्छ ।’

पूर्व सांसद समेत रहेका आचार्यले अर्घाखाँचीमा विकासको नाममा पैसा कुम्ल्याउने प्रवृती हावी भएको भन्दै त्यसको लेखाजोखा राख्न आग्रह गरे । उनले भने’जिल्लामा गएको बजेट तपाईहरु आफैले मुल्याङ्कन गर्नुस् कति काम भए कति दाम नेताहरुको खल्तीमा झर्याछ । काम ३० प्रतिशत गरेर ७० प्रतिशत नेता र ठेकदारको गोजीमा गएको देखिन्छ ।त्यसको छानविन गर्नुस् ,जनता जनार्दन हुन ।जनताको पैसा कामको लागी लैजाने हो ।नेता र ठेकेदार पाल्न होइन ।’

डाक्टर केशव भुसालको स्वागत मन्तव्यमा भएको भेलालाई पूर्वसांसद दुमन थापा,प्रध्यापक निमानन्द रिजाल,विधार्थी नेता नारायण शर्मा, लगाएतले मन्तव्य राखेका थिए ।साविक काठमाडौं अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष नारायण श्रेष्ठको साभापतित्वमा भएको कार्यक्रमको संचालन साविक अर्घाखाँची काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका सचिव गंगा पंथीले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।