आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

म्यानमारमा सैनिक कू हुँदा थाहै नपाई नाचिरहेकी युवतीको भिडिओ भाइरल

गोकर्णेश्वर खबर२० माघ २०७७, मंगलवार २१:५१ मा प्रकाशित (३ साल अघि) १५३६ पाठक संख्या

काठमाडौं – म्यानमारमा सोमबार सैनिक कू भयो। जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि संसारभरिबाट त्यसको विरोध भइरहेको छ।

यो विरोधसँगै सामाजिक सञ्जालमा भने अहिले एउटा भिडिओ पनि भाइरल भइरहेको छ। उक्त भिडिओमा एक जना युवती एरोबिक डान्सको अभ्यास गरिरहेकी देखिन्छन्। उनको पछाडिको सडकमा सेनाका गाडीको लावालस्कर गइरहेको देखिन्छ।

राजधानी नेपिदअमा रहेका सांसदहरूलाई नियन्त्रणमा लिन सैनिक गाडीहरू गएका हुन्। त्यसअघि सेनाले सर्वोच्च नेता आङ सान सुकी र राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिइसकेको थियो।

संसारको ध्यान तान्ने गरी भइरहेको उक्त घटनाले आफ्नो अभ्यासमा मुग्ध ती युवतीको ध्यान भने बिगारेन। साइरनसहित सैनिक गाडीहरू कुद्दा पनि उनी आफ्नो अभ्यासमा लागिरहिन्।

अहिले उनको त्यही भिडिओ भाइरल भएको छ। सामाजिक सञ्जाल ट्वीटरमामात्रै उनको भिडिओ १ करोडभन्दा बढी पटक हेरिएको छ।

यो भिडिओ खिङ ह्निन वाइको हो। उनी एरोबिक डान्स प्रशिक्षकसमेत हुन्।

वाइले आफ्नो भिडिओ फेसबुकमा राख्दै ११ महिनादेखि त्यो ठाउँमा आफूले भिडिओ बनाइरहेको बताएकी छन्।

भिडिओ भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको तस्बिर इतिहासका विभिन्न घटनाहरूसँग जोडेर राख्न थालेका छन्।