आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

ओली पक्षिय नेकपाको आमसभाका दिन लाइसेन्सको लिखित र ट्रायल नहुने

गोकर्णेश्वर खबर२० माघ २०७७, मंगलवार २०:२० मा प्रकाशित (३ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने दिन ( माघ २३ गते) सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा नहुने भएको छ।

सो दिन विभिन्न स्थानमा विरोधका कार्यक्रम हुने हुँदा त्यहाँ जनशक्ति खटाउनुपर्ने भएकाले लाइसेन्सको लिखित र ट्रायल परीक्षा रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै यातायात कार्यालयलाई चिठी पठाएको हो।

महाशाखाले आउँदो शुक्रबार विभिन्न राजनीतिक दलहरूबाट उपत्यकाका केही स्थानमा विरोध लगायतका कार्यक्रम तथा भिभिआइपी,भिआइपी आवागमन हुने र त्यसको व्यवस्थापनको लागि अधिकतम जनशक्ति चाहिने भएकाले परीक्षा स्थगित गर्न अनुरोध गरेको हो।

ट्राफिक व्यवस्थापनकै लागि गत ९ गते प्रतिनिधि पठाउन नसकेको र २३ गते पनि नसक्ने महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिए।

‘सबै ठाउँमा गरेर हामी दैनिक ७० जना जनशक्ति यातायात कार्यालय पठाउँछौं। २३ गते त्यो जनशक्ति अपुग हुने भएकोले नपठाउन लागेका हौं,’ उनले भने।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको बेलामा ट्राफिक प्रहरी अनिवार्य बस्नुपर्ने प्रावधान छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।

उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

सो दिन माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुनेछ।

जुलुसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने जनाइएको छ ।

सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ।