आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार १५:५६ मा प्रकाशित (३ साल अघि) ८८२ पाठक संख्या

३ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।