आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेकपा सचिवालय बैठक आज : दुबै पक्षको यस्तो छ तयारी

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार ०९:४८ मा प्रकाशित (४ साल अघि) २३१ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टाछुट्टै प्रस्तुत गरेका प्रस्तावमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक आज भने पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले मंसिर १३ गते जवाफी प्रस्ताव पेश गरेका थिए ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको जवाफ नदिने, फिर्ता नलिएसम्म संवादसमेत नगर्ने बताएका ओलीले मंसिर ३ गते बसेको सचिवालय बैठकमा जवाफ दिनका लागि १० दिनको समय माग गरेका थिए । त्यसै अनुसार १३ गतेको बैठकमा लामो जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका कुरामात्र समेटेकामा ओलीले पहिलेका राजनीतिक घटनाक्रममा प्रचण्डविरुद्ध गालीगलौज गरेका छन् ।

दुबै पक्षको यस्तो छ तयारी

आजको बैठकमा दुबै प्रस्तावमा छलफल गरेर एकीकृत प्रस्तावका लागि ओली पक्षले पहल गर्नेछ भने प्रचण्डसहित बहुमत पक्षले दुबै प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजाने तयारी छ ।

ओली पक्षका एक नेताले मंसिर १८ गतेका लागि तय भएको स्थायी कमिटी बैठक रोकेर भए पनि सहमति खोज्नुपर्ने बताएका छन् । उनले दुबै प्रस्तावलाई अगाडि नबढाएर दुबैलाई फिर्ता लिन लगाउने र नयाँ प्रस्ताव ल्याउनका लागि पहल भइरहेको बताएका छन् ।

तर, प्रचण्ड पक्षका नेताहरुले भने पार्टी कमिटीले जुन प्रस्तावमा निर्णय गर्छ, उक्त प्रस्ताव मानेर जानुपर्नेमा जोड दिएका छन् । ती नेता भन्छन्, अब पार्टीले गरेको निर्णय र पारित गरेको प्रस्ताव नै नेकपाको आधिकारीक प्रस्ताव हुनेछ ।

ओली पक्षले भने दुई अध्यक्ष मिल्नुपर्नेमा जोड दिएको छ । पार्टीका सबै निकायमा अल्पमतमा रहेकाले पार्टी कमिटीको निर्णय आफूविरुद्ध आउने त्रासका कारण ओलीले बैठक रोक्ने, टार्ने वा आफू अनुपस्थित हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।