आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

कांग्रेस कार्यकर्तालाई राजाको समर्थनमा सडकमा आउन विपिन कोइरालाको अपिल

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार २०:५७ मा प्रकाशित (४ साल अघि) ७९० पाठक संख्या

काठमाडौँ। नेपाली कांग्रेसका नेता विपिन कोइरालाले नेपाली कांग्रेसमा आस्थावान सबैलाई राजाको समर्थनमा सडकमा ओर्लिन आग्रह गरेका छन्। दिल्ली दरबारको निर्देशनमा १२ बुदे सहमतिमा हस्ताक्षर गरेदेखि कांग्रेसले बाटो बिराएको भन्दै कांग्रेसलाई सच्च्याउन कार्यकर्ताहरु सडकमा ओर्लिनु पर्ने बताएका हुन्।

कोइराला भाषणको क्रममा भावुक पनि भए। कोइरालाले राजतन्त्र र प्रजातन्त्रको पक्षमा लड्दा जेल बसेका दिनहरु सम्झदै नेपाली कांग्रेसले बाटो बिराएको बताए। उनले भने, ‘हामी त राजतन्त्र पनि चाहिन्छ प्रजातन्त्र पनि चाहिन्छ भनेर जेल बसेको मान्छे। निरङ्कुश राजा होइन। तर ६३ सालमा बाह्र बुदे पछि कांग्रेसले बाटो बिरायो।’

कोइरालाले ०६३ सालमा राजा र नेताहरु बीच भएको सहमति नेताहरुले तोड्दै राजसंस्थालाई विस्थापित गर्नु जायज नभएको बताए।

कोइरालाले सच्चा कांग्रेसी प्रजातन्त्रवादी संगसंगै राजावादी पनि हुने बताए।

कोइरालाले नेपाल सिक्किमीकरण तर्फ उन्मुख भएको बताएका छन्। राजतन्त्र पुनर्स्थापनाकाे माग गर्दै आयाेजना गरिएकाे कार्यक्रममा कांग्रेस नेता कोइरालाले नेताहरु बिग्रिएकोले देश सिक्किमीकरण तर्फ उन्मुख भएको बताएका हुन्।

कोइराला भने, ‘मैले भन्दै आएको छु राजा बिग्रे भुटान हुन्छ, नेता बिग्रे सिक्किम हुन्छ। नेपालमा नेता बिग्रिए। अब सच्चिनुस। गणतन्त्र तपाईहरुलाई घाडो भएको छ।’

कोइरालाले नेताहरुको हर्कत सिमा नाघी सकेको भन्दै ‘इनफ इज इनफ’ भनेका थिए। उनले भने, ‘मेरा आदरणीय नेताहरुलाई अनुरोध छ, इनफ इज इनफ गरि सक्नुभयो।अब सच्चिनुस!’

कोइरालाले देश अभिभावकविहिन भएको पनि बताए। उनले राष्ट्रपतीय व्यवस्थाले देशलाई अभिभावकत्व नदिने पनि बताए। ‘दलीय राष्ट्रपतिहरु अभिभावक बन्न सकेनन। राजा हामी सबैको साझा हो। हामीले अब राजा ल्याउनु पर्छ।’

कोइरालाले अल्पमतमा परेका केपी शर्मा ओलीलाई डबल लेडी राष्ट्रपति र राजदूतले जोगाएको पनि बताए। ‘आफ्नै पार्टीमा अल्पमतमा परेका ओलीलाई डबल लेडीले जोगाए। डबल लेडी भन्नाले राष्ट्रपति र राजदूत।’

राष्ट्रिय शक्ति नेपाल उपत्यका समितिकाे आयाेजनामा माइतीघरमा जारी प्रदर्शनमा काेइराला सहभागी थिए।

प्रदर्शनमा राजा आउ देश बचाउ, संघीयता खारेज गरलगायतका नारा लगाइएकाे छ ।

कांग्रेसभित्र हिन्दुराष्ट्रकाे पक्षमा रहेकाे समूहसँग नजिक रहेका काेइराला नेपाल विद्यार्थी संघकाे संस्थापक हुन्।

बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए।

आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ।

यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा  र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो।