आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १७:१२ मा प्रकाशित (३ साल अघि) ४६९ पाठक संख्या

काठमाडौ‌ं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले कोभिड–१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापनलगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस’का पूर्वसन्ध्यामा आज आयोजित छलफल कार्यक्रममा महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अन्य समयमा पनि आफूहरुका सवालमा राज्य र समाज गम्भीर नभएको आरोप लगाउँदै महामारीका समयमा यस क्षेत्रका व्यक्ति थप समस्यामा परेको बताए ।

उनले अपाङ्गता भएका व्यक्तिलाई पछाडि पारेर समावेशीकरणको विषय पूर्ण नहुने जनाउँदै आवाजविहीनको आवाज उठाइदिन सञ्चारकर्मीसँग आग्रह गरे । यही मङ्सिर १८ गते मनाइने उक्त दिवसको नारा ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।

महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा महासङ्घले गरेको अध्ययनमा ४१ दशमलव २२ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई कोरोना सङ्क्रमणबारे सामान्य जानकारी रहेको र ६ प्रतिशतमा कुनै जानकारी नभएको पाइएको महासङ्घका व्यवस्थापक मनिष प्रसाईँले बताए । उनले पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपाङ्गताका विषयमा सचेत हुँदै अघि बढ्न थालेको पनि जनाए ।

नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्ति अनलाइन शिक्षामा पहुँच कमजोर रहेको बताए । रासस