आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेपालमा साढे २९ हजार एचआइभी संक्रमित

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १६:५२ मा प्रकाशित (४ साल अघि) ११०९ पाठक संख्या

नेपालमा हालसम्म २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले सार्वजनिक गरेको तथ्यांक अनुसार  पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ । तथ्याङ्क अनुसार विसं २०७७ असार मसान्तसम्म नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय जनामात्र एआरभी उपचारमा रहेका छन् ।

सन २०१० को तुलनामा सन् २०१९ सम्म नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको कार्यक्रममा बताइयो । यस्तै बच्चाहरूमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताइन् । एचआईभी संक्रमितलाई ८० वटा एआरटी केन्द्र र २० वटा एआरभी केन्द्रबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन् ।

३३ औं विश्व एड्स दिवस डिसेम्बर १ मा विश्वभर मनाइँदै छ । नेपालमा पनि ‘‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’’ नारासहित यो दिवस मनाइँदै छ ।