एजेन्सी । एकपटक कोरोना भाइरस सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिना सुरक्षित हुने एक अध्ययनले देखाएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने खतरा नरहेको पाइएको हो ।
अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एक पटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिएका छन ।
यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एक पटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो ।
जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।
सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएको बिबिसीले जनाएको छ ।