आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

विश्व बैंकद्वारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १६:१६ मा प्रकाशित (४ साल अघि) ५४९ पाठक संख्या

१३ कात्तिक, काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ ।

यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

समूहले आज उक्त परियोजना स्वीकृत गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्छन् ।

नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

विश्व बैंकका अनुसार यो परियोजना ५ प्रदेशमा केन्दि्रत हुने भएको छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने भएको छ ।