पुरुषको दाहिने र महिलाको देव्रे आँखा फर्फराउनुलाई शुभ मान्ने विश्वास रहँदै आएको छ । तर, ठीक विपरीत भयो भने अशुभ मानिन्छ ।
मानसिक तनाव धेरै लिने मानिसको आँखा धेरै फर्फराउने गर्छ भने कम मानसिक तनाव लिनेहरुमा तुलनात्मक रुपमा कम फर्फराउने हुन्छ । आँखामा कुनै प्रकारको चोट या दुखाइ छ भने पनि फर्फराउने समस्या देखिन्छ ।
आँखालाई बढी दबाब हुने गरी काम गर्दा पनि यस्तो समस्या निम्तिएको पाइन्छ । कहिलेकाहीँ आँखाको ढकनीभित्र परेला टाँसिएको अथवा आँखाभित्र परेला घुसेको छ भने पनि आँखा फर्फराउन सक्छ ।
आँखा फर्फराउनुलाई कुनै शुभ या अशुभ संकेतको रुपमा नलिएर रोगको प्रकृति भएको बुझ्नुपर्छ । लामो समय आँखा फर्फरायो भने चिकित्सककहाँ जानैपर्छ । फर्फराउने समस्याबाट मुक्त हुन एउटा इन्जेक्सन दिइन्छ । यो इन्जेक्सन लगाएपछि फर्फराउने समस्या अन्त्य हुन्छ ।