आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

मछिन्द्रले सबै विदेशी खेलाडीहरुलाई विदाई गर्यो

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार ०६:४९ मा प्रकाशित (४ साल अघि) २३२ पाठक संख्या

काठमाडौं । गत बर्षको ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबले आफ्ना विदेशी खेलाडीको विदाई गरेको छ । बिहीबार क्लबले मिडफिल्डर आन्द्रे नियालाई विदाई गरेसँगै मछिन्द्रले लिग खेलेका तीन जनै विदेशी खेलाडीहरुलाई स्वदेश फर्काउन लागेको हो ।

मछिन्द्र क्लबमा ब्यवस्थापक अनिल श्रेष्ठले आफ्ना तीन जना विदेशी खेलाडीलाई विदाई गरिएको बताए । चैत ३ गते भएको लिगको अन्तिम खेलमा आर्मीलाई पराजित गर्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि हात पारेको थियो ।

अन्तिम खेलमा उपाधिका लागि आर्मीलाई बराबरीकै नतिजा पर्याप्त थियो भने मछिन्द्रलाई जित्नै पर्ने बाध्यता थियो । राष्ट्रिय टिमका कप्तान समेत रहेका विराज महर्जनको नेतृत्वमा मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो ।

पहिलो पटक लिग जित्न ठुलो लगानी गरेको मछिन्द्रले विराजसँगै राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई टिममा समेटेको थियो । मछिन्द्रले घरेलु फुटबलका तीन राम्रा विदेशी खेलाडीलाई टिममा राखेको थियो ।

डिफेन्डर पिटर सेगुन र मिडफिल्डर एडेलाजा घरेलु फुटबलमा पुराना खेलाडी हुन् । आन्द्रेनियाले पहिलो पटक ए डिभिजन लिग खेलेका थिए ।

यसअघि मनाङ मस्र्याङ्दी र थ्री स्टारबाट समेत खेलिसकेका पिटर गत ६ तारिखमै स्वदेश फर्किएका थिए । आन्द्रेनिया भने आज स्वदेश फर्कंदैछन । त्यस्तै, एडेलाजाको भने सेप्टेम्बर १४ को टिकट लिएको ब्यवस्थापक श्रेष्ठले बताए ।

त्यस्तै, मछिन्द्र क्लबले तीन जना विदेशी खेलाडीलाई स्वदेश पुगेपछि क्वारेन्टिनमा बस्नका लागि खर्च पनि उपलब्ध गराएको जनाएको छ ।

ब्यवस्थापक श्रेष्ठले प्रत्येक खेलाडीलाई १५ दिन क्वारेन्टिनमा बस्न १ सय ५० डलर दिएको बताए । लिगका लागि एक बर्ष सम्झौता गरेका खेलाडी कोरोना कहरकाबीच नेपालमै रहंदै आएका थिए । कोरोना महामारीका कारण मोफसलसहित देशभरका फुटबल गतिविधि स्थगित छ ।

कोरोना महामारीले कुनै पनि प्रतियोगिताको टुंगो नहुँदा क्लबहरुले आफ्ना विदेशी खेलाडीलाई स्वदेश फर्काउन थालेका हुन। घरेलु फुटबलमा प्राय ए डिभिजन क्लबले लिग खेल्न विदेशी खेलाडी ल्याउने गरेका छन् । उनीहरु प्राय अफ्रिकन देशबाट नेपालमा फुटबल खेल्न आउने गर्छन् ।

गत बर्ष लिग सकिनासाथ मोफसलका प्रतियोगिता सुरु भएका थिए । कोरोनाका कारण मोफसलको सिजन पुरा हुन नपाउँदै देश लकडाउनमा गएको थियो । राष्ट्रिय लिगका लागि ठुला क्लबले राम्रा विदेशी खेलाडीलाई क्लबमै राखेका थिए । बाँकी विदेशी खेलाडी मोफसलका प्रतियोगिता खेल्न अन्य जिल्ला स्तरीय क्लबमा आबद्ध भएका थिए ।

कोरोनाले मुलुक प्रभावित बनेपछि अन्तराष्ट्रिय उडान समेत ठप्प रहेको छ । सोही कारण विदेशी फुटबलरहरु काठमाडौंमै फँसेका थिए । फुटबलको नयाँ सिजन सुरु हुने निश्चित नभएपछि क्लबहरुले आफुसंग आबद्ध रहेका धेरै विदेशी खेलाडीलाई स्वदेश फर्काउन थालेका छन् ।