काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानउन्मुख देखिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी र सरकारका आगामी कार्ययोजना बारे पार्टीको कार्यदलले दिएको सुझावलाई समेटेर विस्तृत प्रस्ताव तयार गरेका छन् ।
यो प्रस्तावमाथि शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत भएर छलफल हुने बताइएको छ ।
प्रस्तावमा पार्टीको एकता महाधिवेशन बारे विभिन्न ६ बुँदे प्रस्ताव गरिएको छ । जसमा आगामी चैत्रको २५ देखि ३० गतेसम्म काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ भने महाधिवेसन पार्टी एकताको मर्म अनुसार सहमतिका आधारमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै यसका लागि आगामी कार्तिकमा केन्द्रीय कमिटी बैठक बस्ने र मङ्सिर भित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
दुई अध्यक्षले तयार गरेको एकताको राष्ट्रिय महाधिवेशन सम्बन्धि प्रस्ताव :
पार्टी केन्द्रीय कमिटिको दोश्रो बैठकले तय गरेको मिति (२०७७ चैत २५ देखि ३० ) मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौमा सम्पन्न गर्ने । त्यसका लागि निम्नानुसार तयारी गर्ने:
१. पार्टी एकताको भावना एवम् मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने । महाधिवेशनसंग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्वन गर्ने । महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धती एवम् नेतृत्व सुनिस्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने ।
२. विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण विषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्ताबेजहरु तयार गर्ने । मस्यौदा दस्ताबेजहरु तयार भएसंगै वैचारिक, नीतिगत, तथा विधिगत विषयमा पार्टीव्यापी बहस, छलफल, संचालन गर्ने ।
३. महाधिवेशनबाट माक्र्सवाद-लेनिनबाद मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेको अनुभव तथा मौलिक एवम् सृजनात्मक सिद्धान्तलाई संस्थागत गर्ने । यस क्रममा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा संचालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनको सकारत्मक वैचारिक पक्षहरुको संश्लेषण गर्ने ।
४. महाधिवेशन सम्बन्धि कार्ययोजना पारित गर्न कार्तिक १५ देखि १७ गते केन्द्रीय कमिटिको बैठक आयोजना गर्ने । उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका दस्ताबेज मस्यौदा कमिटि, मूल व्यवस्थापन कमिटि लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजन प्रस्तुत गर्ने ।
५. केन्द्रीय कमिटिको बैठकले महाधिवेशनको कार्ययोजना सम्बन्धि प्रस्ताबमा छलफल गरी आवश्यक निर्णय गर्ने ।
६. संगठन विभागको कार्ययोजनामा आगामी कार्तिक महिना भित्र सम्बन्धित जिल्ला कमिटिहरुले पार्टीको संगठित सदस्यता विवरण अधावधिक गरी प्रदेश कमिटि हुँदै केन्द्रीय संगठन विभागमा पठाउने । मङ्सीर महिना भित्र संगठित सदस्यता नविकरण सम्पन्न गर्ने । प्रवास क्षेत्रमा पनि सोही अनुरुप गर्ने ।