आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

खुकुलो बनाउँदै निषेधाज्ञा भदौ ३१ गतेसम्म बढाइयो

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १२:०५ मा प्रकाशित (४ साल अघि) ४३६ पाठक संख्या

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो समय शनिबार मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचना प्रकाशित गरी तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गरेका छन् । सूचनामा अत्यावश्यकीय बस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ । ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको सङ्ख्या भने दिनहुँ बढ्दै गएको छ ।