आज: १३ माघ २०८१, आईतवार | Sun, 26, Jan, 2025

निको हुने सङ्ख्या बढ्यो, एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०६:४० मा प्रकाशित (४ साल अघि) ४७७ पाठक संख्या

काठमाडौँ, १८ भाद्र। दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ पुष्टि भएका सङ्क्रमित र निको भएकाको सङ्ख्या बराबर दर्ता गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १२० जना सङ्क्रमित थपिएका छन् । एक हजार ११२ जना सङ्क्रमित निको भई घर फर्केका छन् । हाल निको हुने दर ५४.९ प्रतिशत छ । मङ्गलबार ७६८ जना सङ्क्रमित निको भई घर फर्केका थिए ।

सामान्य रुपमा कोभिड–१९ का सङ्क्रमित १५ दिनमा निको हुन्छ । पन्ध्र दिनअघि भदौ २ गते थपिएका सङ्क्रमित र स्वास्थ्य लाभ भएकाको सङ्ख्या पनि बराबर नै छ । भदौ २ गते एक हजार १६ जना सङ्क्रमित थपिएका थिए । जुन अहिलेसम्मकै सबैभन्दा बढी थियो । पन्ध्र दिनपछि भदौ १७ गते एक हजार ११२ जना सङ्क्रमित निको भएका छन् । तर पछिल्लो एक महिना यता निको हुनेको सङ्ख्या निरन्तर घट्दै गएको थियो । साउन ३१ गतेसम्म १७ हजार २०१ जना निको भएका थिए । त्यति बेला कुल सङ्क्रमित २६ हजार १९ थियो र निको हुने दर करिब ७० प्रतिशत थियो । तर भदौ १७ गते कुल सङ्क्रमित ४१ हजार ६४९ पुगेको छ । निको हुने २३ हजार २९० मात्रै छन् । करिब पचास प्रतिशत बिरामीमा सङ्क्रमण अझै सक्रिय छ ।

साउन तेस्रो साता निको हुने दर ७२ प्रतिशतसम्म पुग्यो । जसले कोभिड–१९ सक्रिय रहेको बिरामी पाँच हजारमा झरेको थियो । तर भदौ तेस्रो साताको सुरुवातमा ५३ प्रतिशतमा पुगेको छ । हाल सक्रिय सङ्क्रमित १८ हजार १०८ छन् ।

नयाँ सङ्क्रमित पुष्टि हुने बढ्नु र निको हुने दर घट्दै जानुले मृत्युदर बढ्ने अनुमान गरिएको छ । बिरामी निको हुन समय लिएपछि मृत्यु हुनेको सङ्ख्या निरन्तर वृद्धि हुँदै आएको छ । तर बुधबार एकैपटक निको हुने सङ्क्रमितको सङ्ख्या बढेपछि जनस्वास्थ्यमा चासो राख्नेहरूमा उत्साह थपेको छ । जनस्वास्थ्यविद् डा। रविन्द्र पाण्डे स्वास्थ्य हेरचाह, पूर्वाधारको अवस्था, बिरामीको आत्मबल र बिरामीमा सही समयमा सही उपचारको विधि अपनाइए निको हुने दर बढ्ने विश्वास व्यक्त गर्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।