आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

प्रम ओलीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको खुलासा

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार २१:०५ मा प्रकाशित (४ साल अघि) ३०० पाठक संख्या

काठमाडौं – नेपाल-भारत प्रबुद्ध समूहका तत्कालीन सदस्य राजन भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको एक अध्ययनले खुलासा गरेको छ।

‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेको छ। चीनले नेपाल र नेपालका नेताहरुलाई कसरी आफ्नो नियन्त्रणमा लिइरहेको छ भन्ने विषयमा प्रकाशित एक लेखमा भट्टराईको सन्दर्भ जोडिएको छ।

लेखका अनुसार रिसर्च पेपरका लागि भट्टराईलाई उक्त रकम दिइएको थियो। यो प्रोजेक्टको कोअर्डिनेटर भट्टराईकी श्रीमती गीता रहेको उक्त लेखमा उल्लेख छ। नेपाल-भारत प्रबुद्ध समूहकै सदस्यलाई चीनले कसरी आफ्नो पक्षमा लिएको थियो भनेर उक्त लेखमा प्रकाश पार्न खोजिएको छ।

लेखमा जनाइएअनुसार भट्टराईले उक्त रिसर्च पेपर दुई महिनामा सक्नुपर्ने थियो अर्थात सन् २०१७ को डिसेम्बरसम्ममा। नेपाल-भारतको शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोतका दुई देशको सहकार्य र मुद्धा एवम् नेपाल-भारत वाणिज्य सम्बन्धका सम्भावनाहरुबारे रिसर्च पेपर केन्द्रित थियो।

एनजीओ पृष्ठभूमिबाट आएका भट्टराईलाई शान्ति प्रकृयाताका पनि बेलायती दातृ निकाय डिफिड र अन्य पश्चिमा दाताहरुले नेपालको सुरक्षा क्षेत्रमा सुधार (सेक्युरिटी सेक्टर रिफर्म)का नाममा ठूलो धनराशी प्रदान गरेका थिए।

भट्टराई हाल प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार रहेका छन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। उनी नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिजका अध्यक्ष पनि हुन्।