आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

मेसीले भने– म बार्सिलोना छाड्न चाहन्छु

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार ०७:१२ मा प्रकाशित (४ साल अघि) ३७५ पाठक संख्या

१० भदौ काठमाडौं । अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।

कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ

क्याम्प नोउ क्लबमा मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन् ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तमा परेका थिए । उनको स्थानमा क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बनेका छन् ।

मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए । साथै उनले क्लबमा अर्को सिजन रहनेमा पनि संशय व्यक्त गरेका थिए ।

मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको स्पानिस रेडियो आरएसी वानले जनाएको छ । आरएसी वानका अनुसार मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन् ।