आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

कुलमान घिसिङ पुनः नियुक्तिको हल्ला

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार २१:२६ मा प्रकाशित (४ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः चार वर्षका लागि नियुक्ति भएको हल्लाले आज व्यापकता पायो । वास्तविकता भने नियुक्ति भएकै थिएन ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकबाट घिसिङ पुनः नियुक्ति भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लाग्यो । यतिसम्म कि होइन भन्ने नै कोही भएनन् । तर, आजको मन्त्रिपरिषद बैठकमा उनलाई नियुक्ति गर्नेबारे कुनै प्रस्ताव नै थिएन ।

मन्त्रिपरिषद बैठक बस्दैछ भन्ने सर्वसाधारणले थाहा पाएपछि कार्यकारी निर्देशक घिसिङलाई नियुक्ति गरोस् भन्ने अभिप्रायले नियुक्ति भएको भन्दै बधाई दिएको स्पष्ट भएको छ । जनचाहना कुलमान घिसिङ पुनः नियुक्ति होस भन्ने देखिएको छ ।

उर्जामन्त्री वर्षमान पुनले पनि कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव नलगेको स्पष्ट पारेका छन् । भदौको अन्तिममा कार्यकाल सकिँदै गरेका कुलमानलाई पुनः नियुक्तिका लागि व्यापक जनदवाव छ । १८ घण्टाको लोडसेडिङ अन्त्य गरेका कुलमान नेतृत्वको विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नेतृत्वमा हेर्न चाहेकाले पनि जनदवाव अनुरुप नियुक्तिको बधाई आएको स्पष्ट छ ।