आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेपालमा एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको कुल संख्या १५४ पुग्यो

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २०:११ मा प्रकाशित (४ साल अघि) ३५८ पाठक संख्या

काठमाडौं । एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । मृतकमा उच्च रक्तचाप, मधुमेह र  स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए ।

आजै कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देहीमा बुटवलमा पनि आजै दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएको जानकारी दिएको थियो । यससँगै मृतकको कुल संख्या १५३ पुगेको छ । यद्यपी बुटवल, सुनसरी र उपत्यकाका ५ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छैन ।