आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कोरोना संक्रमण जोखिमः बागमती किनारमा स्नान नगर्न प्रहरीको आह्वान

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ०८:५९ मा प्रकाशित (४ साल अघि) ३६१ पाठक संख्या

काठमाडौं । हिन्दु महिलाहरुले मनाउने तीज पर्व सकिए पछि आउने ऋषि पञ्‍चमी पर्वमा नदी, ताल, तलाउ, पोखरीजस्ता स्थानमा स्नान गर्ने परम्परा रहेपनि यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ।

ऋषिपञ्‍चमीका अवसरमा बागमती किनारमा स्नान गर्ने भन्दै भिडभाड हुँदा कोरोना संक्रमणको सम्भावना रहने र पानीको शुद्धताका बारेमा पनि यकिन नभएकाले बागमती किनारमा नुहाउन निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले बताए।

आज बिहानैदेखि बागमती, मनोहरा लगायत नदी किनारमा प्रहरी खटाइएको उनले बताए।

यसअघि तुलनात्मक रूपमा सफा रहेको बागमती नदीको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्‍चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए।

गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किलोमिटर नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौंं महिलाहरुले ऋषिपञ्‍चमीका दिन स्नान गर्ने गर्थे ।