आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : मृतकको संख्या १२० पुग्यो

गोकर्णेश्वर खबर३ भाद्र २०७७, बुधबार १५:०७ मा प्रकाशित (४ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । गएराति र आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको हो । ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप दुईजनाको मृत्यु भएको छ । ५७ वर्षीय र ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमामात्रै ३० जनाको ज्यान गइसकेको छ ।

त्यस्तै सुनसरीमा पनि एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । ७१ वर्षीया महिलाको मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । ती महिला २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

मकवानपुरमा पनि कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १ चौकी टोलका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै भक्तपुरकी एक महिलाको पनि मृत्यु भएको छ । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत भक्तपुर सूर्यविानायककी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । उनी क्यान्सरबाटसमेत पीडित थिइन् ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मोरङको बुढीगंगा २ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

नेपालमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ ।