आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको आकांक्षीमा गोपालमान श्रेष्ठको पनि दाबी

गोकर्णेश्वर खबर३२ श्रावण २०७७, आईतवार १९:१२ मा प्रकाशित (४ साल अघि) २४८ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा भावी नेतृत्वका आकांक्षी मुख खोल्न थालेका छन्।

संस्थापन इतर समूहबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरुले आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन्।

सबैले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आफूलाई संस्थापन इतर समूहबाट एकल उम्मेद्वार बनाउनुपर्ने दाबीसहित तयारी अघि बढाएका छन्।

संस्थापन इतर समूहमा सभापतिको आकांक्षीबीच प्रतिस्पर्धा देखिइरहेका बेला सभापति शेरबहादुर देउवा समूहबाट पनि उनीसहित विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गरेको तथ्य सार्वजनिक भइरहेको छ।

देउवा टिमबाट निधिले भन्दा पहिले नै नेता गोपालमान श्रेष्ठले आफू आउँदो महाधिवेशनमा सभापतिको उम्मेद्वार आफू हुनुपर्ने प्रस्ताव सामूहिक रुपमा देउवा, निधिलगायतका नेताहरुसँग राखेको खुलेको छ।

गत बिहीबार देउवा निवास बुढानीलकण्ठ पुगेर निधिले देउवा समक्ष अब आफूलाई सभापतिमा सहयोग गरेर अभिभावकका रुपमा बस्न आग्रह गरेका थिए। तर श्रेष्ठले भने दुई हप्ता अघि देउवा निवासमै भएको नेताहरुको जमघटमा संस्थापन पक्षमा आफूलाई सभापतिको उम्मेद्वार बनाउनु पर्ने दाबी पेश गरेका थिए।

आफूले नेताहरुसँग सामूहिक रुपमा सभापतिको दाबेदार प्रस्तुत स्वीकार गर्दै नेता श्रेष्ठले भने, ‘देउवाजी पछि पार्टीमा सबै हिसाबले सिनियर मैँ हुँ। उहाँ सभापति नउठ्ने हो भने स्वभाविक मेरो हक लाग्छ। मैंले यो कुरा नेताहरु भनिसकेँ।’

स्याङ्जामा जन्मेका ७२ वर्षे श्रेष्ठ कांग्रेसमा देउवाका विश्वास पात्रका हुन्। कांग्रेस प्रजातान्त्रिक गठन हुँदा कार्यवाहक सभापतिका रुपमा देउवालाई साथ दिएका उनले पार्टीका सबै मोर्चामा देउवालाई साथ दिँदै आएका छन्।

दुई कांग्रेस एकीकरण भएपछि उनी उपसभाति भएका थिए।

‘सभापति पछिको मै हुँ। कांग्रेस प्रजातान्त्रिक हुँदा देउवाजी जेलमा भए पनि आन्दोलनका सबै मोर्चा मैले हाँकेको हुँ। प्रजातान्त्रिकको ११ औँ महाधिवेशनमा शेरबहादुरलाई सर्वसम्मत सभापति बनाउने पनि मै हुँ’, आफू सभापति हुन योग्य रहेको दाबी गर्दै उनले अगाडि भने, ‘ऐतिहासिक १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने कांग्रेसबाट जिउँदो व्यक्ति पनि मै हुँ। त्यसैले शेरबहादुर जीको विकल्प मै हो।’

जवाफमा सभापति देउवाले पनि आफूपछिको सिनियर श्रेष्ठ नै उक्त भेटमा स्वीकार गरेको अर्का एक नेताले जानकारी दिए। देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘मपछि सिनियर त तपाईँ नै हो यार।’

आफू सभापतिको उम्मेद्वार भए वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि सहयोग गर्ने श्रेष्ठले दाबी गरे। उनले भने, ‘पार्टीलाई राम्रोसँग चलाउन सक्छु। सबै साथीहरुलाई समेटर लैजान सक्छु। मेरो उम्मेद्वारी भयो भने पौडेलजी ले पनि सोच्नु हुन्छ भन्ने मेरो विश्वास छ।’

शशांक कोइरालालाई त आफूले ठूलो गुन लगाएको र त्यो उनले तिर्न बाँकी रहको नेता श्रेष्ठले बताए। २०६४ सालमा सप्तरीमा चुनाव उठ्न लागेका कोइरालालाई त्यहाँ नजितिने भन्दै नवलपरासी उठ्न आफूले नै सहयोग गरेर राजनीतिमा स्थापित गरेकार उल्लेख गरे।

उनले भने, ‘शशांक जीलाई राजनीतिमा स्थापित हुन मैले नै सहयोग गरेको हुँ। २०६४ मा चुनाव लड्न उहाँ सप्तरीमा जाने कुरा भएको थियो। मैले त्यहाँ जितिदैन भनेर उहाँलाई नवलपरासी लगेर चुनाव लड्न सहयोग गरे। त्यसपछि तीनवटा चुनाव जितेर उहाँ स्थापित हुनुभयो। त्यो गुन उहाँले तिर्न बाँकी छ।’

श्रेष्ठले कांग्रेसका संगठनलाई समावेशी बनाउनसमेत महत्वपूर्ण भूमिका खेलेका थिए।