आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

काठमाडौं उपत्यकामा कोरोनाको कहर : ३८ जना आइसियुमा, ५ जना भेन्टिलेटरमा

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ०६:५६ मा प्रकाशित (४ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दैनिक बढीरहेको छ । संक्रमितमध्ये ५ जना भेन्टिलेटरमा र ३८ जना आइसियुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले उपत्यकाका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।

गम्भीर अवस्थाका दुईजना पाटन अस्पतालको भेन्टिलेटरमा र तीनजनाको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १४ जना, एपिएफ अस्पतालमा ७ जना, शिक्षण अस्पताल महाराजगञ्जमा ५ जना, पाटन अस्पतालमा ६ जना, ह्याम्स अस्पतालमा ४ जना, वीरेन्द्र सैनिक अस्पतालमा र धुलिखेल अस्पतालमा एक एक जनाको आइसियुमा उपचार भइरहेको छ ।

अहिले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १ हजार ३ सय ८३ जना एक्टिभ कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ५१ जना, ललितपुरमा १ सय ५४ जना र भक्तपुरमा ७८ जना एक्टिभ संक्रमित छन् ।

अहिलेसम्म काठमाडौंमा १ हजार २ सय ७७, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ९० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा १ सय १८, भक्तपुरका ३२ र ललितपुरका ३५ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् ।