आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

ओली नेतृत्वको सरकार विचौलियाको कठपुतली भयो : कांग्रेस

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १९:२८ मा प्रकाशित (४ साल अघि) २८८ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाको कठपुतली बनेको बताएको छ।

सरकारले जनताका पीडा नसुनेको उल्लेख गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार विचौलियाको हितका लागि मात्रै काम गरिराखेको बताए।

‘विचौलियाको कठपुतली सरकार भन्ने पुष्टि भयो, लगानी बोर्डको नियुक्तिले पनि त्यो पुष्टि गरिसक्यो,’ सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘सरकारले जनताको पीडा सुनेन। समस्या बुझेन। यो सरकारले धेरै सुन्दैन भन्ने त थाहा छ तर सरकारलाई ध्यानाकर्षण गराइराख्ने काम प्रतिपक्षको हो।’

लकडाउन खुलेपछि कोरोना संक्रमणको संख्या बढेको उनले बताए। ‘पूर्ण लकडाउन गर्न आर्थिक हिसावले झन् जटिल हुने देखिएको छ,’ उनले भने, ‘कोरोना समुदायमा फैलिएको विज्ञहरूको पनि निष्कर्ष छ।’

संक्रमण व्यापक बन्दै गए पनि सरकारले पिसिआर परीक्षण दायरा वृद्धि नगरेको आरोप उनले लगाए। कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा दिनुपर्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयले मन्त्रीको नजिकका कर्मचारीलाई च्याप्दा प्रभावकारी काम नभएको महतको भनाइ छ।

‘असफल नेतृत्वलाई स्वास्थ्य मन्त्रालयमा राखिराख्ने? स्वास्थ्य सामग्री खरिददेखि अन्य क्षेत्रमा अनियमितता छ। कोरोना नियन्त्रणमा इमान्दार नेतृत्व आवश्यक छ,’ उनले भने, ‘हुनत यो सरकार नै इमान्दार छैन। तर यो सरकार रहुन्जेल हामीले भन्ने यही सरकारलाई नै हो।’

ओली सरकारले कोरोना नियन्त्रण लगायतमा धेरै राम्रा काम गर्न नसकेको उनले बताए। ‘सरकारले गर्ला र हामी सुरक्षित रहौंला भनेर नबसौं। आफैं सुरक्षित हुनुपर्छ,’ महतले भने।

कोरोना सम्बन्धी अध्ययन तथा अनुगमन समितिका संयोजकसमेत रहेका महतले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरा नभुल्न पनि आग्रह गरेका छन्।

‘अत्यावश्यक भए मात्रै सार्वजनिक स्थानमा जानुपर्छ। नियमित साबुन पानीले हात धुनुपर्छ,’ उनले भने। विभिन्न अस्पतालले बिरामीको भर्ना नलिएर मृत्यु भएका घटना सार्वजनिक भएको भन्दै उनले कांग्रेस कार्यकर्तालाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। सरकार यस्ता कुरामा संवेदनशील हुनुपर्ने उनले बताए।

‘सरकार आफ्ना स्वार्थका राज्यको दुरूपयोग गर्दैछ। सत्तामा भूमिका लिन म्युजिकल चियर दौड चलिरहेको छ। सत्ता केन्द्रित राजनीति गर्न छाडेर जनता केन्द्रित राजनीति सरकारले गरोस्,’ उनले भने, ‘हामी सत्तामा छैनौं। तर सचेतना र अप्ठेरोमा परेका नागरिकलाई हाम्रो पार्टीका साथीहरूले गर्नुहुन्छ।’