काठमाडौं – नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका पोखरा १९ का ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो। कोभिड १९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको गएराति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै हिजो शनिबार पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।
यसअघि हिजो शुक्रबार एकैदिन पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।
योभन्दा अगाडि गत विहीबार पनि पाँच जनाकै मृत्यु पुष्टि भएको थियो । मन्त्रालयका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।