आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त,राष्ट्रपति भाइले खुवाए प्रधानमन्त्री दाइलाई सपथ

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १७:५७ मा प्रकाशित (४ साल अघि) ४४६ पाठक संख्या

कोलोम्बो – यस्तो संसारमा बिरलै हुन्छ! श्रीलंकामा भने यस्तो दुई पटक भइसकेको छ। श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन्।

पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक बौद्ध मन्दिरमा सपथ ग्रहण गरेका हुन्।

गत बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पिपुल्स पार्टीले झन्डै दुई तिहाइ मत हासिल गरेको थियो। निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मत परिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक्लैले २२५ मध्ये १४५ सिट हासिल गरेको हो। साथै उनीहरूको गठबन्धनमा रहेको दलले थप पाँच सिट जितेका छन्।

जुलाइमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले संसदीय राजनितिमा प्रवेश गरेको ५० वर्ष पूरा गरेका थिए। २४ वर्षीय हुदाँ सन् १९७० मा उनी सासंद बनेका थिए। उनी दुई पटक राष्ट्रपति र तीन पटक श्रीलंकाका प्रधानमन्त्री भएका छन्।

गत नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएपछि गोटवायाले महिन्दालाई प्रधानमन्त्री बनाएका थिए।
कोरोनाभाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो। बुधबारको मतदानमा ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए। राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए।

संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए। कोरोनाभाइरसका कारण चुनाव दुई पटक सरेको थियो।
श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ। सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए। पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए।

राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा ‍लोकप्रिय छ। सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ।