आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कोरोनाले कांग्रेस महाधिवेशन नसर्ने

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार ०६:२८ मा प्रकाशित (४ साल अघि) १७५ पाठक संख्या

कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता नवीकरण, वितरण र संघीय संरचनाअनुसार पार्टी संगठन संरचना समायोजनका काम प्रभावित बने पनि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नसर्ने भएको छ।

आइतबार बसेको पदाधिकारी बैठकले गत पुस ११ गते सार्वजनिक कार्यतालिकाअनुसार १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निष्कर्ष निकालेको हो।

तर तल्ला तहका अधिवेशनहरू भने प्रभावित हुनेछ। पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन यसअघि घोषित मिति फागुन ७ मै गर्ने र क्षेत्र, जिल्लालगायत अधिवेशनका मिति हेरफेर गर्ने निर्णयमा पदाधिकारी बैठक पुगेको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले  जानकारी दिए।

पार्टी विधानअनुसार कांग्रेसले सबै जिल्ला, क्षेत्रीय समितिलगायतमा समायोजन सकेको छैन। गत चैतभित्रै सकिनु पर्ने समायोजनका काम पटकपटक म्याद थप गरे पनि करिब ३० जिल्लाले अझै सकेका छैनन्। स्थानीयस्तरमा पार्टी संरचनाअनुसार समायोजनका लागि कांग्रेसले निर्देशिका पनि जारी गरेको थियो।

आइतबार महाधिवेशन कार्यतालिका हेरफेर, कोरोना रोकथाम तथा नियन्त्रण, नागरिकता विधेयक, बाँकी रहेका जिल्लामा समायोजनका काम अगाडि बढाउनेलगायत विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशनबाहेक तल्ला तहका अधिवेशनका कार्यतालिका हेरफेर गर्न मंगलबार केन्द्रीय समिति बैठक डाक्ने निर्णय पनि गरेको खाँणले जानकारी दिए।

‘केन्द्रीय महाधिवेशन तोकिएको समयमा गर्ने र तल्ला तहका अधिवेशनबारे कार्यतालिका हेरफेर गर्नेबारे छलफल भयो,’ उनले भने, ‘थप छलफलपछि केन्द्रीय समितिबाट परिमार्जित कार्यतालिका अनुमोदन गर्छौं।’

कांग्रेसले कोरोना महामारीकै बीच भए पनि महाधिवेशन तयारी सुरू गर्न लागेको हो। सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल सकिएको र थप भएको एक वर्ष समयभित्रै महाधिवेशन सक्नुपर्ने बाध्यकारी अवस्थाका कारण महाधिवेशन तयारी गर्नु परेको हो।

आइतबारको पदाधिकारी बैठकमा सभापति देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले सम्भावित कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त कार्यतालिकालाई मंगलबारको केन्द्रीय समितिले अनुमोदन गरेमा कांग्रेसका तल्ला तहका अधिवेशन पुसदेखि सुरू हुनेछन्।

यसअघि गत पुसमा सार्वजनिक गरिएको कार्यतालिकामा दशैंलगत्तै कात्तिकदेखि अधिवेशनका काम सुरूवात गरिने उल्लेख थियो। कोरोनाका कारण अधिवेशनका कार्यक्रम करिब दुई महिनापछि धकलिने देखिएको छ।

कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सक्ने बताएको थियो। तर फागुन २१ गतेदेखि कोरोना महामारीले सबै कार्यक्रम स्थगित छ। कांग्रेसमा साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता वितरण हुन्छ। क्रियाशील सदस्यहरूले क्षेत्रीय समिति चुन्छन्। तिनै सदस्यबाट क्षेत्रीय समिति चुनिन्छन् जो महाधिवेशन प्रतिनिधि हुन्छन्।

अधिवेशन सुरू गर्नुअघि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सक्नुपर्ने हुन्छ। पार्टीको वडा कार्यसमितिले नै क्रियाशील सदस्यता दिन सक्छ तर नामावली केन्द्रीय पार्टी कार्यालयमा पठाउनुपर्छ। विवाद भए केन्द्रले छानविन गरेर मात्रै क्रियाशील सदस्यता दिन्छ। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा कांग्रेसका चार लाख ८० हजार क्रियाशील सदस्य थिए।

यस्तो छ पदाधिकारी बैठकले केन्द्रीय समितिमा पेश गर्न लागेको परिमार्जित कार्यतालिका:

  • पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि २०७७ असार मसान्तभित्र।
  • क्रियाशील सदस्यता वितरण: प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति असार २५ देखि साउन मसान्तसम्म सक्नुपर्ने।
  • नयाँ क्रियाशील सदस्यता वितरणबारे उजुरी दिनुपरे २०७७ असोज १५ गतेभित्र।
  • उजुरी सम्बन्धमा छानविन समितिले निर्णय गरिसक्नुपर्ने २०७७ असोज मसान्तसम्म।
  • छानविन समितिको निर्णय चित्त नबुझे पुन उजुरी दिने समय २०७७ कात्तिक मसान्तसम्म।
  • उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नुपर्ने २०७७ मंसिर १५ गतेभित्र।
  • नयाँ क्रियाशील र नवीकरण सदस्यको नामावली केन्द्रीय सभापतिलाई बुझाउनुपर्ने २०७७ मंसिर २५ गतेसम्म।
  • केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने २०७७ मंसिर मसान्तभित्र।

अधिवेशनका कार्यक्रम:

  • गाउँ/नगर वडा अधिवेशन २०७७ पुस ६ गते।
  • गाउँ/नगरपालिका अधिवेशन २०७७ पुस ८ गते।
  • प्रदेशसभा क्षेत्रीय अधिवेशन २०७७ पुस ११ गते।
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन) २०७७ पुस १३ गते।
  • एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ पुस १६ गते।
  • प्रदेश अधिवेशन २०७७ माघ ६ गते।
  • केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा।

कांग्रेसले गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरेको थियो। कात्तिकमा गर्ने भनिएका अधिवेशनका कार्यक्रम पुसमा सार्ने पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्ताव लैजाने सहमति भएको छ।