आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

देशभर कोरोना संक्रमण दर उच्च, उपत्यकामा अझ खतरा

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०७:०८ मा प्रकाशित (४ साल अघि) ३४३ पाठक संख्या

काठमाडौं, २२ साउन । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम संख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदैछ ।

बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिए ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उनले दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंका एक, स्टार अस्पतालमा काठमाडौंका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना देखिएको हो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । कुल सङ्क्रमितको संख्या २१ हजार ३९० पुगेको छ । गोरखापत्र दैनिकबाट