कैलाली । मृत्यु भइसकेको मानिस जिउँदो रहेको विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको खुलेको छ । टीकापुर नगरपालिकाको वडानम्बर १ गणेशपुर शिविरमा स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको बताइएको छ ।
मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए अनुसार शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए। कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको हो । मृत्युपछि ५ दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको र धर्मप्रति विश्वासमा रहेका ईश्वरले ७ दिनपछि बाबु उठ्ने विश्वास गरेका थिए । पाष्टर पनि लासमा पसिना आएर गन्ध आएको भन्दै लास उठ्ने विश्वासमै थिए । तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको ईश्वर बताउँछन् । पाष्टर दीपक चौधरीले टीकापुर नगरपालिका वडानम्बर ४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई पनि प्रार्थना गरेर राखिएको बताए ।
मंगललबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो। प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । रासस