आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

गोकर्णेश्वर खबर१८ श्रावण २०७७, आईतवार १८:४८ मा प्रकाशित (४ साल अघि) ३३० पाठक संख्या

काठमाडौं – नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि वीरगन्ज आएकी थिइन् ।

यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका  ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर(२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो ।

वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।