एजेन्सी । आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।
वेम्बलीमा गएराती सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सिमित चेल्सीलाई दुई एक गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे ।
रोमान्चक मोडमा पुगेको फाइनल भिडन्तमा एक गोलको अग्रता उल्टाएर आर्सनलले उपाधि चुमेको हो ।
खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २८औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई एक एक गोलको बराबरीमा फर्काए ।
त्यस्तै खेलको ६७औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई दुई एक गोल अन्तरको जित दिलाए ।
खेलको ७३औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
यससँगै आर्सनलले कीर्तिमानी १४औं पटक एफए कपको उपाधि जितेको छ ।