आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

तारेभिर क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको हव बनाउँछौं : मेयर चालिसे

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ११:५२ मा प्रकाशित (४ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले तारेभिर क्षेत्रको बिकासलार्इ नगरपालिकाले बिशेष प्राथमिकतामा राखेको बताएका छन् । उनले तारेभिर क्षेत्रको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईको गन्तब्य बनाउँने बताएका हुन ।

गोनपा वडा नं ३ स्थित तारेभिर आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै मेयर चालिसेले सो कुरा बताएका हुन । उनले ६० वर्ष पुरानो तारेभिर आधारभूत विद्यालयको अवस्था २ वर्ष अघि बेहाल देखेपछि आफुले विद्यालयलाई राम्रो र गुणस्तरिय शिक्षा बनाउने प्रण लिएको जानकारी दिदै नवनिर्मित भवनसँगै अब अझ गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।

मेयर चालिसेले ६० वर्ष पुरानो विद्यालय २०७२ सालको भूकम्पले थप क्षत विक्षत बनाएको स्मरण गर्दै त्यति खेर घासी लगायतका संस्थाले सहयोगी भूमिका खेल्नको लागि नगरपालिका संग समन्वय गरे पनि बिचमै छोडेर जाने प्रबित्ति देखिएकोमा दुःख व्यक्त गरे । स्थापना भएको ६ दशक बितिसक्दा पनि उल्लेख्य सुधार हुन नसकेको तारेभिर आधारभूत विद्यालयलाई ७२ सालको भूकम्पले झनै असर गर्यो उनले भने म निर्वाचित भएर आएपश्चात नगरपालिकाले बिशेष चासो दिएर वर्तमान अवस्थामा आउने वातावरण सिर्जना भएको हो । भौगोलिक रुपमा बिकट स्थानमा रहेको विद्यालयको भवन निर्माणमा सहयोग गर्ने छायाँ नेपाल संस्थालाई धन्यबाद दिदै मेयर चालिसेले बिकट क्षेत्रमा मात्र काम गर्ने गरेको छायाँ नेपालले सो स्थानलाइ छनौट गरेकोमा बिशेष धन्यवाद दिए ।

नगर प्रमुख चालिसेले भवन निर्माण मात्र पर्याप्त नभई तारेभिरमा गुणस्तरीय शिक्षा समेत आजको आवश्यकता रहेको औल्याउँदै गुणस्तरीय शिक्षाको लागि तारेभिरका बालबालिका तथा अभिभावक अन्त भौतारिनु नपर्ने अवस्था निर्माण गर्नुपर्ने मा जोड दिए। नगरपालिकाको भेगमा रहेको शिवपुरी पर्वत शृंखलामा पर्यटन पूर्वाधार बिकासका लागि बिशाल शिवको मुर्ति बनाउने योजना अगाडी बढेको जानकारी गराउँदै प्रमुख चालिसेले निकुन्जका कारण खडा भएको व्यवधान हट्ने बित्तिकै निर्माणकार्यले गति लिने बताए। सो क्षेत्रमा सहज आवागमनका लागि गोकर्ण र बुढानिलकण्ठबाट सडक निर्माण भइरहेकोमा खुसि ब्यक्त गर्दै केहि वर्ष भित्रमानै आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईको गन्तब्य हुने विश्वास व्यक्त गरे ।

मेयर चालीसेले तारेभिरलाइ पर्यटकीय गन्तव्य बनाउन जोरपाटीमा पर्यटकीय केन्द्र बनाउने जानकारी दिदैं तारेभिरका स्थानीयहरुलाई भुइ स्याउ लगायतका कृषि ,होम स्टे, महिलाहहरुलाई शिप तथा रोजगार विकास लगायतका कार्यक्रम संचालन गर्ने बताए । उनले आय आर्जनको लागि महिलाहरुलाई शिप विकास सहित पर्यटन पर्वधन गर्ने कार्यक्रमका लागि नगरपालिकाले बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उल्लेख गरे ।

नवनिर्मीत भवन गोकर्णेश्वर नगरपालिका र छायाँ नेपालको आर्थिक सहयोग सम्पन्न भएको हो ।

फोटो / सरोज बस्नेत