आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

पर्सामा सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०८:५२ मा प्रकाशित (४ साल अघि) २६१ पाठक संख्या

पर्सा : पर्सामा प्रतिनिधिसभा सदस्यसहित थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । सांसद यादवका सुरक्षागार्ड र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् ।

तीन महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणको कारण पर्सामा अहिलेसम्म १० जनाले मृत्यु भैसकेको छ । संक्रमण फैलिन नदिन विगत चार दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।