आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

भयावह बन्दै वीरगन्जमा ‘कोरोना’

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०८:०३ मा प्रकाशित (४ साल अघि) २३६ पाठक संख्या

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो । थप एक महिलाको पनि मृत्यु भइसकेको छ । तर, उनको स्वास्थ्य परीक्षण रिपोर्ट आई नसकेको नारायणी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरूमा वीरगन्ज–१६ नगवाका ३५ वर्षीय र वीरगन्ज–२ छपकैयाका ६५ वर्षीय पुरुष छन् । यस्तै, जगदम्बा इन्टरप्राइजेजका सिइओको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी भारतीय नागरिक हुन् । आफ्नै घरमा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको नारायणी अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए ।

योसहित पर्सामा साउनमा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । मुलुकभरि भने योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सयभन्दा बढी होम आइसोलेसनमा नै छन् । ५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको थियो ।

तीमध्ये दुई जनाको बिहीबार अबेर साँझ मृत्यु भएको हो । पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमित १ सय ८४ जना छन् । यो संख्यामध्ये २० जनालाई सेमी आइसोलेसनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । यीबाहेकका सबै संक्रमितलाई आ–आफ्नो घरमै राखिएको उनले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।