आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कोरोना अपडेट : मृतकको संख्या ५६ पुग्यो, कुन जिल्लामा कति ? (सूचिसहित)

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १७:५६ मा प्रकाशित (४ साल अघि) २०६ पाठक संख्या

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालमा लकडाउन खुलेपनि संक्रमितको संख्या भने बढ्दै गएको छ ।

सरकारले १ सय २० दिन लामो लकडाउन गरेर खुला गरेपछि संक्रमितको सख्या अझ बढ्दै गएको हो । कोरोना संक्रमितको सख्या बढेसंगै सरकारले पुन अन्तर जिल्ला आवागमनमा कडाइ गरेको छ ।

सबैभन्दा बढी प्रदेश नम्बर २ मा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै बागमती प्रदेशमा ११ जना, प्रदेश ५ मा १० जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा ४ र प्रदेश नम्बर १ मा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको आपत्कालिन स्वास्थ्य संचालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै अहिलेसम्म २९ वटा जिल्लाका मानिसहरुले कोरोनाको कारण ज्यान गुमाएका छन् । प्रदेश १ को मोरङमा एक जनाको ज्यान गएको छ । प्रदेश २ का ५ वटा जिल्लाहरु धनुषामा ३ जना, पर्सामा ९ जना, बारामा ३ जना, रौतहटमा दुई जना र सप्तरीमा एक जनाले ज्यान गुमाउका छन् ।

बागमती प्रदेशका ५ वटा जिल्लाहरु काठमाडौंमा ४ जना, चितवनमा दुई जना, ललितपुरमा दुई जना, सिन्धुपाल्चोकमा दुई जना र दोलखामा एक जना रहेका छन् । यस्तै गण्डकी प्रदेशका ४ वटा जिल्लाहरु गोरखामा एक जना, म्याग्दीमा एक जना, वाग्लुङमा एक जना र स्याङ्जामा दुई जना रहेका छन् ।

त्यस्तै प्रदेश ५ अन्तर्गत अर्घाखाँचीमा एक जना, कपिलवस्तुमा एक जना, गुल्मीमा ३ जना, दाङमा एक जना, पाल्पामा एक जना, बाँकेमा दुई जना र रुपन्देहीमा एक जना रहेका छन् । यता कर्णाली प्रदेशका ३ जिल्लाहरु डोल्पामा एक जना, दैलेखमा एक जना र सुर्खेतमा दुई जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेशका ४ जिल्लाहरु अछाममा एक जना, कैलालीमा ४ जना, बझाङमा एक जना र बाजुरामा एक जनाको ज्यान गएको छ । नेपालमा समुदाय स्तरमा कोरोना फैलिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । तर स्वास्थ्य मन्त्रालयले भने यो कुराको पुष्टि गरिसकेको छैन ।