आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा आज थप ३८ जनामा कोरोना संक्रमण,उपत्यका उच्च जोखिममा

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १७:५१ मा प्रकाशित (४ साल अघि) २०७ पाठक संख्या

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना ललितपुरका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेको छ।

शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।

१५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ। सरकारले लकडाउन खोलेसँगै काठमाडौं उपत्यका भित्रनेको संख्या बढेको छ ।

उपत्यका भित्रनेको संख्या बढपछि कोरोना संक्रमितको संख्या पनि ह्वात बढेको छ । स्वास्थ्य मन्त्रालयले उपत्यकामा कोरोनाको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षका उपाय अबलम्बन गर्न आग्रह गरेको छ ।