‘असार १५ दहीचिउरा खानू, साउनको १५ खीर’, यो भनाइ नेपाली समाजमा परम्परागतरुपमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज त्यहि दिन हो । घरघरमा खीर र मिष्ठान्न भोजन खाएर यो पर्व मनाइँदैछ । वर्ष दिनभरिमा कहिले जौ को सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिक मान्यता छ । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।