आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

भदौमा सकिँदै कुलमान घिसिङको कार्यकाल, पुन: नियुक्ति होला ?

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार ०८:३८ मा प्रकाशित (४ साल अघि) ३१८ पाठक संख्या

काठमाडौं । चार वर्ष अघि २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदै छ ।

घिसिङलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । आफ्नो कार्यकालमा धेरै परिवर्तन ल्याएका घिसिङलाई सरकारले पुन नियुक्ति गर्छ वा गर्दैन भन्ने विषयमा बहस सुरु भएको छ ।

घिसिङले आफ्नो कार्यकालमा धेरै परिवर्तनका कार्यहरू गरेका छन् । जसमा सम्झनै पर्ने कामहरूमा पर्छन् लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत् चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा लगेको लगायतका कामहरू ।

जसका कारण जनताको मन मस्तिष्कमा सहजै बस्न सफल भएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने प्रसङ्ग चल्न थालेको हो ।

त्यसो त आफ्नो ४ वर्ष कार्यकालमा उत्कृष्ट कार्य गरेर देखाएका कुलमानलाई फेरी पनि प्राधिकरणको कार्यकारी निर्देशकमा पदमा नियुक्ति गर्न कुनै पनि ऐन वा कानुनले छेक्दैन ।

अब उनलाई फेरी सोही पदमा राख्ने वा नराख्ने भन्ने कुराको निर्णय विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीमा निर्भर रहेको छ ।